काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूले निम्तो पत्रसमेत नपाएको भन्दै गुनासो गरेका छन् । सामाजिक सञ्जालमा स्टटास लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।
उनले लेखेका छन्,‘आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना,पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’
आजबाट चितवनमा सुरु भएको महाधिवेशनका सन्दर्भमा ढकालले पार्टी स्थापनाका कठिन दिनहरूको स्मरण गरेका छन् । ५०० वटा नागरिकता जुटाउन समेत संघर्ष गर्नुपरेको समयदेखि आज पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुग्दासम्मको यात्रालाई उनले ‘मानसपटलमा जीवन्त रहने इतिहास’ भनेका छन्।
‘महत्वपूर्ण कुरा म उपस्थित छु कि छैन भन्ने होइन । महत्वपूर्ण कुरा महाधिवेशनले के निर्णय गर्छ भन्ने हो । म आशा गर्दछु, यो महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन । को कुन पदमा जित्यो वा हार्यो भन्नेभन्दा ठूलो प्रश्न पार्टीले कुन दिशा रोज्छ भन्ने हो,’ उनले भनेका छन् ।



प्रतिक्रिया