काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित नीति तथा बलियो प्रणाली विकास गर्नुपर्ने बताएका छन्।
मंगलबार ‘विपद् उत्थानशीलताको सुरुआत घरबाटै’ अभियानको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रमाणमा आधारित योजना तथा नीति निर्माणमा जोड दिएका हुन्।
उनले विपद्का समयमा कुनै व्यक्ति विशेषको सक्रियता वा निर्णयमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य गरी आवश्यक संयन्त्र स्वतः सक्रिय हुने व्यवस्था बनाउनुपर्ने बताए। विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय र प्रणालीलाई आवश्यकताअनुसार परिचालित गर्न सके भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न सहज हुने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले विपद्का प्रकृति र जोखिमका सङ्केत समयअनुसार परिवर्तन भइरहने भएकाले पूर्वतयारी तथा निगरानीलाई निरन्तर प्रभावकारी बनाउनुपर्ने बताए। परम्परागत दृश्यमा आधारित अनुगमन प्रणाली मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले जोखिम पहिचान तथा पूर्वानुमानका लागि कृत्रिम बौद्धिकता (एआई) जस्ता प्रविधिको उपयोग गर्न सकिने धारणा राखे।
नेपाल भूकम्प, मनसुनी बाढी, हिमताल विस्फोट तथा पहिरोका कारण नदीको बहाव अवरुद्ध हुनेजस्ता विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उनले उल्लेख गरे। यस्ता जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, उद्धार तथा राहतका सामग्रीको उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
विशेषगरी माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले नदीको बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रको जोखिम आकलन, पूर्वसूचना र निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ।
‘हाम्रो नीति वैज्ञानिक तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा निर्देशित हुनुपर्छ, व्यक्ति केन्द्रित व्यवस्थाभन्दा प्रणाली केन्द्रित संयन्त्र बलियो हुनुपर्छ,’ उनले भने।




प्रतिक्रिया