नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।
मंगलबार दिउँसो करिब १२ बजे सुनसरीको बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्। प्रहरीका अनुसार उनको दाहिने खुट्टामा चोट लागेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका थिए। सिरहामा हाजिर हुन जाने क्रममा उनी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीले चलाएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। डा. चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन्। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो।



प्रतिक्रिया