चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया त सुरु भएको छ, तर व्यवस्थापकीय सुस्ती र अनिश्चितताका कारण प्रतिनिधिहरूमा भने व्यापक निराशा छाएको छ। ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि बुधबार मध्यरातिदेखि मतदान जारी रहँदा मत खसालेलगत्तै प्रतिनिधिहरू मतदानस्थलबाट सिधै घर फर्कन थालेका छन्।
पूर्वनिर्धारित कार्यतालिकाभन्दा महाधिवेशनको अवधि दुई दिन लम्बिएपछि प्रतिनिधिहरू थप बस्न नसक्ने स्थितिमा पुगेका हुन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार डिजिटल प्रविधि र चुस्त व्यवस्थापनको दाबी गरिए पनि मतदान प्रक्रिया अपेक्षाभन्दा निकै लामो र झन्झटिलो बनेको छ। बुधबार राति सुरु भएको मतदान बिहीबार दिउँसोसम्म पनि सकिने छाँटकाँट नदेखिएपछि प्रतिनिधिहरू थाकेका देखिन्थे।
पार्टीको विद्यमान विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि मात्रै दोस्रो चरणमा पदाधिकारीहरूको चयनका लागि मतदान हुने व्यवस्था छ। तर, पहिलो चरणकै मतदान कहिले सकिने र दोस्रो चरणको निर्वाचन कहिले हुने भन्नेबारे पार्टीको केन्द्रीय निर्वाचन आयोगले स्पष्ट कार्यतालिका सार्वजनिक गर्न सकेको छैन।
यही अन्योल र अनिश्चितताका कारण धेरैजसो प्रतिनिधिहरू पदाधिकारी निर्वाचनको प्रतीक्षा नै नगरी चितवन छोड्न बाध्य भएका छन्। गण्डकी प्रदेशबाट आएका एक प्रतिनिधिले आक्रोश र निराशा पोख्दै भने, ‘पदाधिकारीको निर्वाचन जेसुकै होस्, यहाँको भद्रगोल र अनिश्चितताका कारण म त घर फर्कन लागेँ।’
महाधिवेशनको बन्द सत्र सुरु हुन नै ढिलाइ भएको र अवधि थपिँदै गएका कारण प्रतिनिधिहरू मंगलबारदेखि नै पातलिने क्रम सुरु भएको थियो। भूगोलतर्फबाट केन्द्रीय सदस्य पदका एक उम्मेदवारका अनुसार बुधबार राति र बिहीबार दिउँसोसम्ममा महाधिवेशनमा सहभागी कुल प्रतिनिधिमध्ये आधाभन्दा बढीले चितवन छोडिसकेको अनुमान छ।
रास्वपा निर्वाचन आयोगका अनुसार महाधिवेशनमा मुलुकभर र प्रवाससमेत गरी करिब ४ हजार १ सय प्रतिनिधि सहभागी छन्। यद्यपि हाल महाधिवेशन स्थलमा कति प्रतिनिधि उपस्थित छन् भन्नेबारे आयोगले यकिन तथ्यांकबाहिर ल्याउन चाहेको छैन। प्रतिनिधिहरूका लागि राखिएको ५ हजार रुपैयाँ शुल्क र चितवनको बसाइ खर्चको अतिरिक्त भारका कारण पनि प्रतिनिधिहरू लामो समय पर्खने मुडमा देखिएनन्।
नयाँ र वैकल्पिक राजनीतिको नारा दिएर स्थापना भएको रास्वपाको पहिलो महाधिवेशनमै परम्परागत पार्टीहरूको भन्दा कमजोर व्यवस्थापन देखिएको भन्दै हलभित्र र बाहिर तीव्र आलोचना भइरहेको छ।
चितवनको भरतपुरमा जारी महाधिवेशनमा मतदान व्यवस्थापन, फितलो समय तालिका र लम्बिँदो निर्वाचन प्रक्रियालाई लिएर असन्तुष्टि चुलिएको छ। यसरी प्रतिनिधिहरूको उपस्थिति पातलिँदै जाँदा अब हुने पदाधिकारी निर्वाचनको सहभागिता र त्यसबाट निर्वाचित हुने नेतृत्वको नैतिक वैधानिकतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।



प्रतिक्रिया