रास्वपा महाधिवेशन: ‘नो भोट’ को नारा र आफ्नै प्रतिद्वन्द्वीलाई मत दिनुपर्ने बाध्यता


चितवन । नयाँ र वैकल्पिक राजनीतिको नारासहित नेपाली राजनीतिको मञ्चमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक लोकतन्त्र र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियाप्रति पार्टीकै जिम्मेवार नेताहरूले तीव्र असन्तुष्टि पोखेका छन्। नो भोटको वकालत गर्दै आएको पार्टीभित्रै मतदानको प्राविधिक जटिलता र बाध्यकारी व्यवस्थाले नयाँ बहस सिर्जना गरिदिएको छ।
रास्वपाका प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पार्टीको मतदान प्रणाली र व्यवस्थापनको कडा आलोचना गर्दै नो भोटको अवधारणाकै धज्जी उडाइएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गर्दै सांसद खत्रीले महाधिवेशनमा आफ्नै प्रतिस्पर्धी उम्मेदवारलाई समेत अनिवार्य रूपमा मत दिनुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको दाबी गरे।
‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ। नो भोटको धज्जी उडाइयो,’ सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्।
मतदान प्रक्रिया र महाधिवेशनको व्यवस्थापनलाई लिएर असन्तुष्टि जनाउनेमा सांसद खत्री एक्ला छैनन्। पार्टीका नेता धनञ्जय रेग्मीले पनि महाधिवेशनमा देखिएको अव्यवस्था र व्यवस्थापकीय कमजोरीप्रति नेतृत्वको ध्यानाकर्षण गराएका छन्। पदाधिकारीहरूको अपरिपक्व कार्यशैलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रास्वपाको छविमा धक्का पुगेको रेग्मीको टिप्पणी छ।
चितवनमा जारी महाधिवेशनको पहिलो चरणअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया अघि बढिरहेको छ। तर, प्रविधिको प्रयोग र मतदान पद्धतिको व्यावहारिक जटिलताका कारण प्रतिनिधिहरू नै अलमलमा परेका छन्।
पार्टीभित्रैबाट मतदान प्रक्रिया र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठिसक्दा पनि रास्वपा संस्थापनले भने हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। प्रविधिको उच्चतम प्रयोग गर्ने दाबी गरिएको महाधिवेशनमा देखिएका यी अन्तर्विरोध र असन्तुष्टिले रास्वपाको आन्तरिक लोकतान्त्रिक अभ्यास कति परिपक्व छ भन्ने कुरामाथि नयाँ बहस छेडिदिएको छ।