विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम


नेपालगञ्ज। स्वस्थ जीवनशैली अवलम्बन गर्न विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा ‘होप इन्टरनेसनल एकेडेमी नेपालगन्ज’ले उक्त कार्यक्रम गरेका हुन् ।

विद्यार्थीलाई सचेत उपभोक्ता तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यसहित सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यालयस्तरमा उपभोक्ता शिक्षाको महत्वलाई स्थापित गर्न मद्दत पुगेको घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ अधिकृत पुष्करसिंह ठकुरीले बताए । विद्यार्थी भविष्यका नेतृत्वकर्ता मात्र नभइ वर्तमानका उपभोक्ता पनि भएकाले विद्यालयस्तरमै उपभोक्ता अधिकार, कर्तव्य र जिम्मेवारीका विषयमा जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो।

“सचेत उपभोक्ता निर्माण भए मात्र बजारमा हुने ठगी, भ्रमपूर्ण विज्ञापन तथा गुणस्तरहीन वस्तु तथा सेवाको प्रयोग कम गर्न सकिन्छ”, उनले भने।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव एवं सहजकर्ता अधिवक्ता वसन्त गौतमले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था, उपभोक्ताका मौलिक अधिकार, क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था तथा कानुनी उपचारका प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए। उनले उपभोक्ता अधिकार केवल सैद्धान्तिक विषय मात्र नभइ दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको व्यवहारिक पक्ष भएको उल्लेख गर्दै विद्यार्थीलाई बजारमा वस्तु तथा सेवा खरिद गर्दा सचेत रहन आग्रह गरे।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँके शाखाका अध्यक्ष सुरेशकुमार गौतमले उपभोक्ता शिक्षा समाजको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै विद्यालयस्तरमा यस्ता कार्यक्रमको निरन्तरताले भावी पुस्तामा सचेतना, जिम्मेवारी र अधिकारप्रतिको बोध वृद्धि हुने विश्वास व्यक्त गरे।

विद्यार्थीलाई गुणस्तरीय वस्तु तथा सेवा छनोट गर्ने तरिका, उत्पादनको अवस्था अध्ययन गर्ने विधि, उत्पादनको समय, मूल्य, उत्पादक तथा गुणस्तरसम्बन्धी विवरण जाँच गर्ने अभ्यासबारे व्यावहारिक जानकारी प्रदान गरिएको उनले बताए।

कार्यक्रममा खाद्य स्वच्छता, सन्तुलित आहार–विहार तथा पछिल्लो समय तीव्र रूपमा बढिरहेका नसर्ने रोगको जोखिमबारे पनि जानकारी गराइएको थियो । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सरलगायत नसर्ने रोगले मानव स्वास्थ्यमा पारिरहेको प्रभाव र यसको रोकथाम तथा नियन्त्रणमा विद्यार्थी र युवापुस्ताले निर्वाह गर्नुपर्ने भूमिकामाथि विशेष जोड दिइएको थियो।

कार्यक्रममा अधिवक्ता वसन्त गौतमले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि, जङ्कफुडको न्यून प्रयोग तथा स्वास्थ्यप्रति विद्यार्थीले राखेका विभिन्न जिज्ञासाको सहजीकरण गरेका थिए । बजारमा बढ्दो उपभोक्ता ठगी, गुणस्तरहीन वस्तुको बिक्रि तथा अस्वस्थ जीवनशैलीका चुनौतीबिच यस्ता सचेतनामूलक कार्यक्रम विद्यार्थीका लागी उपयोगी र शिक्षाप्रद रेहको कार्यक्रमका सहभागीले बताएका छन्। कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ७७ विद्यार्थीको सहभागिता रहेको थियो। रासस