दृष्टिविहीनको आन्दोलनमा पुगेर धमलाले भने, ‘न्याय दिलाएरै छोड्छु’


काठमाडौँ । माइतीघर मण्डलामा पाँच दिनदेखि आन्दोलनरत दृष्टिविहीनहरूको पक्षमा चर्चित पत्रकार एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले ऐक्यबद्धता जनाएका छन् । सडकमा न्यायको याचना गरिरहेका दृष्टिविहीनहरूलाई भेट्न शुक्रबार आन्दोलनस्थलमै पुगेका धमलाले उनीहरूको माग पूरा गराउन आफूले निर्णायक पहल गर्ने उद्घोष गरे ।

आन्दोलनकारीहरूले पत्रकार धमला माइतीघर पुग्नेबित्तिकै ‘ऋषि दाइले बोलिदिनुपर्‍यो’ भन्दै आफ्नो पीडा पोखेका थिए । आफ्नै देशमा न्याय मरेको आभास भएको भन्दै आन्दोलनकारीहरूले भने, ‘हामी नेपाली जनता हौँ, नयाँ पार्टीलाई सहयोग गरेकै हो, रवि लामिछानेलाई जेलबाट छुटाउन पनि सहयोग गरेकै हौँ । तर, रास्वपा सरकार बनेपछि धेरै कमाउन रोडमा गीत गाएको भन्छन् । भोग्नेको पीडा उनीहरूलाई के थाहा ? दृष्टिविहीनहरुले आफ्नो कला र क्षमता देखाएर खाँदा पनि महानगरले कुट्ने र लखेट्ने मात्रै गर्छ ।’

दृष्टिविहीनहरूको दुःख र आक्रोश सुनेपछि पत्रकार धमलाले उनीहरूको भनाइलाई जस्ताको तस्तै सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । मिडिया जगतका प्रभावशाली व्यक्तित्व धमलाले आन्दोलनकारीहरूलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरूको यो आन्दोलन र भावनाप्रति मेरो पूर्ण समर्थन छ । संवाद, सहकार्य र सहमतिबाटै यो समस्याको समाधान हुनुपर्छ । मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारसँग म तुरुन्तै कुरा गर्छु र आउँदो आइतबारसम्म दुवै पक्षलाई वार्ताको टेबलमा राखेरै छोड्छु ।’

धमलाले दृष्टिविहीनहरूको प्रतिभाको सम्मान हुनुपर्नेमा जोड दिँदै राज्य र काठमाडौँ महानगरपालिकाको कार्यशैलीप्रति कडा आपत्ति जनाए । ‘राज्यले सबै सेवासुविधा दिएर राख्नुपर्नेमा उल्टै लखेट्नु कत्तिको न्यायसंगत हो ? धमलाले आक्रोश पोखे, ‘यसमा राज्यले पुनर्विचार गर्नुपर्छ, महानगर र बालेन सरकारले पनि यसको विकल्प खोज्नैपर्छ । दृष्टिविहीनहरूलाई न्याय दिलाउन म कुनै कसर बाँकी राख्ने छैन ।’

आन्दोलनकारीहरूले पढेका दृष्टिविहीनलाई जागिर, नपढेकालाई भत्तास्वरूप मासिक २० हजार रुपैयाँ दिनुपर्ने र शेयर मार्केटबाट १० प्रतिशत रकम दृष्टिविहीनहरूको हितका लागि छुट्याइनुपर्नेलगायत माग राखेका छन् ।

यसैबीच, पत्रकार धमलाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद रमेश प्रसाईंलाई पनि दृष्टिविहीनहरूको आन्दोलनमा सहभागी भई माग पूरा गराउन पहल गर्न आग्रह गरेका छन् । धमलाले स्मरण गर्दै भने, ‘रमेश प्रसाईंलाई चर्चित बनाउन मैले पनि मेरो जनता जान्न चाहन्छन् कार्यक्रममा ल्याएर अन्तर्वार्ता लिएको हुँ । त्यसैले आज दृष्टिविहीनहरूले समस्या भोगिरहँदा रमेश प्रसाईंले उनीहरूको माग सम्बोधन गराउन अग्रसरता देखाउनैपर्छ ।’

पाँच दिनदेखि सडकमै धर्ना दिइरहेका दृष्टिविहीनहरूले धमलाको यो सशक्त र ओजपूर्ण प्रतिबद्धतापछि न्याय पाउनेमा ठूलो भरोसा जागेको बताएका छन् ।