पोखराको स्कुल बस दुर्घटना अपडेट : १८ जना विद्यार्थीको उद्धार


पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्लेमा भएको स्कुल बस दुर्घटनामा परेका १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको छ।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार पोखरा–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस ओख्लेमा दुर्घटनामा परेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयवासी मिलेर उद्धार कार्य जारी राखेका छन्। उद्धार गरिएका घाइते विद्यार्थीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला बसमा कति विद्यार्थी सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त नभएको सूचना अधिकारी पासवानले बताए। उनका अनुसार घटनास्थलमा उद्धार कार्य जारी रहेकाले विद्यार्थीको वास्तविक संख्या र उनीहरूको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ।

‘विद्यार्थी कति थिए भन्ने यकिन विवरण अझै आएको छैन। हामी फिल्डमै छौँ, अरूको पनि उद्धार भइरहेको छ,’ पासवानले भने।

उनले दुर्घटनामा परेका विद्यार्थीको अवस्थाबारे चिकित्सकले परीक्षण गरेपछि मात्रै स्पष्ट जानकारी प्राप्त हुने बताए। दुर्घटनामा बस नराम्ररी क्षतिग्रस्त भएको छ।