प्यानलको नाममा बाँडिएका सूची ‘फेक’ हुन् : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपिभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा गगन थापाको प्यानल भन्दै वितरण गरिएका उम्मेदवारको सूची झुटो भएको बताएका छन्।

सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिक रूपमा प्यानलगत सूची तयार पारिएको र महाधिवेशन प्रतिनिधिहरूबीच बाँडिएको चर्चा चलेपछि शर्माले त्यसको खण्डन गरेका हुन्।

शर्माले आफूहरूले प्यानलको सूची तयार गरी वितरण गरेको भन्ने कुरा गलत भएको स्पष्ट पारेका छन्। उनका अनुसार सभापतिका उम्मेदवार थापा र आफू दुवैका लागि सबै उम्मेदवार समान छन्।

‘हामीले बनाएको वा पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु। ती सबै फेक हुन्। सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ। हामीले प्यानल बनाउन आवश्यक छैन,’ शर्माले भनेका छन्।

उनले सभापतिका उम्मेदवार गगन थापाले पनि आफ्नो नाममा प्रचार गरिएका प्यानलगत सूची झुटो भएको बताइसकेको उल्लेख गरेका छन्।

शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्दा विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा उम्मेदवार छनोट नगर्न आग्रह गरेका छन्। निर्वाचनमा जुनसुकै उम्मेदवार विजयी भए पनि सबैलाई समान रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ। महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्ष वा विपक्ष छुट्याएर दिनुहुन्न,’ उनले भनेका छन्।