काठमाडौं, असार १४ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने भाष्यलाई चरितार्थ गर्दै वामपन्थी राजनीतिका मुख्य नेता (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका सहसंयोजक माधवकुमार नेपाल आज एउटै मञ्चमा उभिने भएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको विशेष समारोहमा जेनजी आन्दोलनपछि पहिलो पटक एउटै मञ्चमा आमनेसामने हुन लागेका हुन्।
विगतको तिक्तता र राजनीतिक विभाजनपछि विरलै मात्र एउटै मञ्चमा देखिने गरेका ओली र नेपाललाई एउटै ठाउँमा ल्याउने कडी भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन्। ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्ड र नेपालसँगै झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
पछिल्लो समय फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा व्यहोर्नुपरेको राजनीतिक धक्कापछि कम्युनिस्ट पार्टीहरूबीच पुनः एकताको बहसले तीव्रता पाएको छ। विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भित्री सक्रियतामा नेकपा एमाले र नेकपाबीच एकता गराउने कसरत चलिरहेको पृष्ठभूमिमा यो संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।



प्रतिक्रिया