गुल्मी। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उनले जानकारी दिए।
प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताए। जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए। बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया