सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष पेस गरेका हुन् ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनैपनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र मार्केट म्यानुपुलेसन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए ।

संसद्को अधिवेशन नचलेको अवस्थामा जारी गरिएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ( निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ संघीय संसदबाट स्वीकृत भइसकेको छ ।