एजेन्सी । स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ ।
हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिव ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । यसका साथै उत्तर–पश्चिमी क्षेत्र एल बिएर्जो र जारागोजा प्रान्तका विभिन्न स्थानहरूमा पनि डढेलो सक्रिय रहेको छ ।
कतिपय स्थानमा चट्याङका कारण डढेलो शुरु भएको पुष्टि भएको छ । डढेलोको जोखिम बढेपछि हुस्काबाट करिव २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
यस्तै, बार्सिलोना नजिकैको टियाना, सान्त फोस्ट डे क्याम्पसेन्टेलेस, मार्टोरेलेस र सान्ता मारिया डे मार्टोरेलेस क्षेत्रमा डढेलो र धुवाँका कारण करिव १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ ।
बार्सिलोना नजिकैको क्षेत्रमा जानाजानी डढेलो लगाएको आशंकामा क्याटलन प्रहरी (मोजोस डिक्वेग्रा) ले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
यस वर्षको पहिलो तातो लहरका कारण स्पेनका कतिपय क्षेत्रमा जुन महिनाकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । बिल्बाओमा ४३ डिग्री सेल्सियस र दक्षिणी प्रान्त जाएनमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो ।
यो सप्ताहबाट पुनः गर्मी बढ्ने मौसमविद्हरूको पूर्वानुमान छ । आगामी साताको शुरुवातमा राजधानी म्याड्रिडको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ ।



प्रतिक्रिया