प्रदेश खारेजीको घोषणा गरेर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भयाे :सांसद बिष्ट


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँगै रास्वपा पनि फाँसीवादउन्मुख भएको हो ? भन्दै प्रश्न गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले सरकारले नै देशलाई संकटमा धकेल्दा सत्तारूढ पार्टी त्यसमै मिसिएको जस्तो देखिएको टिप्पणी गरे ।

‘सरकार एक्लै फाँसीवादतर्फ गइरहेको छैन, रास्वपा पनि फाँसीवादतर्फ उन्मुख भएको संकेत हुँदै छ’, उनले भने । उनले देश कूटनीतिक रूपमा पनि असफल हुँदै गइराखेको बताए ।

उनले नागरिक महँगीको मारमा परेको, मल अभावमा किसान र पुस्तक नपाएर विद्यार्थी तड्पिरहेका बताए । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भने यस्ता आधारभूत विषय छाडेर संवैधानिक अंगलाई प्रभावमा पारेर स्वार्थसिद्धिमा लागेका उनले आरोप लगाए ।

उनले हजारौँका बलिदानपश्चात् बनाइएको संविधान असफल पार्ने र प्रदेश खारेजीको घोषणा गरेर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र गरिएको समेत बताए ।