काठमाडौँ । एमाले र नेकपाबीच पुनः सहकार्य वा पुनर्मिलनको सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा चुलिएका बेला पार्टीभित्रै वैचारिक मतभेद सतहमा आउन थालेका छन् । शीर्ष नेतृत्व पुनर्मिलनको पक्षमा लचक देखिए पनि दोस्रो तहका नेताहरूले भने यसको औचित्यमाथि प्रश्न उठाउन थालेका हुन् ।
विशेष स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल दुवै पक्ष राजनीतिक सहकार्यको सम्भावनाप्रति सकारात्मक र खुला देखिएका छन् । तर, एमालेभित्रै बलियो पकड भएका र पार्टी पुनर्गठनको एजेन्डा उठाइरहेका केही नेताहरू भने तत्काल यो प्रक्रिया अघि बढाउने पक्षमा छैनन् ।
यसैबीच, एमाले महासचिव शंकर पोखरेलले ऐतिहासिक सन्दर्भ जोड्दै सम्भावित कम्युनिष्ट एकताको राजनीतिक अर्थमाथि गम्भीर टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल र राजनीतिक छलफलहरूमा आएका मतलाई संकेत गर्दै उनले कार्ल मार्क्सको प्रसिद्ध भनाइ उद्धृत गरेका छन् ।
“इतिहासमा उस्तै घटनाहरू पहिलो पटक दुःखान्तका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्”— शंकर पोखरेल, महासचिव, एमाले
महासचिव पोखरेलका अनुसार समय र परिस्थिति निरन्तर परिवर्तन भइसकेकाले विगतका असफल अभ्यास, नारा वा प्रवृत्तिलाई जस्ताको त्यस्तै दोहोर्याउनु प्रत्युत्पादक हुन सक्छ । उनले राजनीतिक सहकार्य वा पुनर्संरचनाबारे पुरानै ढाँचामा नभई गम्भीर र नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेतृत्व तहमा संवादको ढोका खुले पनि पार्टीभित्र रणनीति, भावी नेतृत्व र संगठनको स्वरूपलाई लिएर मतभेद कायमै रहेकाले तत्कालै ठोस सहमति बनिहाल्नेमा भने आशंका उब्जिएको छ ।



प्रतिक्रिया