संसदीय अभ्यासलाई परिणाममुखी र प्रविधिमैत्री बनाउनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताएका छन् । ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गरे ।

संसदीय अभ्यासलाई परिणाममुखी र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले संसद्को वर्तमान कार्यशैलीप्रति निर्मम समीक्षा गर्नुपर्ने बताए । ‘हामीले आफैँलाई प्रश्न सोध्नुपर्छ– के संसदबाट समयमै आवश्यक ऐन–कानुन निर्माण हुन सकेका छन् ? के कार्यपालिका संसदप्रति उत्तरदायी भएको छ ?’ दाहालले भने ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण विश्वमा आएको परिवर्तनलाई आत्मसात् गर्दै त्यसको जिम्मेवार र मानवीय उपयोगका लागि कानुनी ढाँचा निर्माण गर्न ढिला गर्न नहुने उनले बताए ।