लुटपाटमा संलग्न चार जना पक्राउ


काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं धापासी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय राम शरण दमाई, काठमाडौं टोखा नगरपालिका-१ बस्ने ३८ वर्षीय सविन खवास, काठमाडौं गौरीघाट बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएकी ४३ वर्षीया लक्ष्मी गोले र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-५ घर भएका ४६ वर्षीय शेर बहादुर मोक्तान रहेका छन् । 

शेर बहादुरको कोठामा पीडितलाई असार ९ गते ५/६ जना समूहमा आएका मानिसहरूले प्रहरी हौं भनि डर त्रास देखाई धाक धम्की दिई हतकडी लगाई १० लाख ९५ हजार रूपैयाँ, मोबाइल र बैंकको चेकहरू डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ समेत बरामद गरेको छ ।  

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।