काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले संघीय सरकारका मन्त्रीहरूलाई जवाफदेही बन्न आग्रह गर्दै सांसदहरूले उठाएका विषयमा समयमै जवाफ दिन निर्देशन दिएका हुन् । बैठकमा सांसदहरूले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा जनता र राष्ट्रसँग जोडिएका महत्त्वपूर्ण सवालहरू उठाउने गरे पनि सरकारले त्यसलाई उपेक्षा गरेको भन्दै अध्यक्ष दाहालले यस्तो निर्देश गरेका हुन् ।
बैठकमा रुलिङ गर्दै अध्यक्ष दाहालले भने: “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु।”
यसअघि सोही बैठकमा सांसदहरूले शून्य समयमा उठाइएका जनताका पीर–मर्का र समसामयिक प्रश्नहरूको सरकारबाट कुनै जवाफ नआएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । विशेषगरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार नभएको भन्दै आपत्ति जनाएपछि अध्यक्ष दाहालले सरकारलाई समयमै जवाफदेही हुन स्पष्ट निर्देशन दिएका हुन् ।
संसद्मा उठाइएका प्रश्नहरूको जवाफ नदिँदा संसदीय गरिमा र अनुगमनको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको भन्दै सांसदहरूले यसअघि पनि पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।



प्रतिक्रिया