पोखरा । लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ पुनः डुबानमा परेको छ। केही समयअघि मात्रै पुनर्निर्माण सम्पन्न भएको गाउँ फेरि बाढीको चपेटामा परेको हो।
स्थानीय अगुवा राजन गुरुङका अनुसार नदीको बहावमा अवरोध आएपछि पानी गाउँतर्फ पस्दा ताल क्षेत्र जलमग्न बनेको हो। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिणतर्फका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सडक सम्पर्क विच्छेद भएपछि गाउँका बासिन्दा बाहिरी क्षेत्रसँग सम्पर्कविहीन बनेका छन्। गाउँ चारैतिरबाट घेरिएपछि स्थानीयवासी सामूहिक रूपमा स्वास्थ्य चौकीको भवनमा बसेका छन्।
बाढीका कारण गाउँमा विद्युत् तथा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। जिल्लाभर टेलिफोन सम्पर्कसमेत प्रभावित हुँदा तालगाउँभन्दा माथिल्लो क्षेत्रमा बाढी तथा पहिरोको अवस्था कस्तो छ भन्नेबारे यकिन जानकारी लिन कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
२०७८ सालमा आएको बाढीले समेत तालगाउँमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि पुनर्निर्माण गरिएको गाउँ फेरि बाढीको जोखिममा परेको हो।
यसैबीच, मर्स्याङ्दी नदीमा पानीको बहाव निरन्तर बढिरहेको र नदीको प्राकृतिक बहावमा समेत अवरोध देखिएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीलाई सुरक्षित स्थानमा रहनसमेत सचेत गराइएको छ।




प्रतिक्रिया