पोखरा । नेकपाका संयोजक पुष्पकमल दाहालले देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रहार भइरहेको दाबी गरेका छन् । पोखरामा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलामा उनले मुलुकले सुगौली सन्धि यताकै सबैभन्दा ठूलो चुनौती सामना गर्नुपरेको बताएका हुन् ।
संयोजक दाहालले श्रमजीवी जनता, सुकुम्वासी र सीमा क्षेत्रमा चौतर्फी संकट बढेको उल्लेख गरे । ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता निकै चुनौतीपूर्ण अवस्थामा छ,’ उनले भने, ‘जनताको वर्ग र श्रमजीवीमाथि प्रहार भएको छ । मधेशको नाममा भोट लिएर मधेशकै छातीमा प्रहार गर्ने काम भइराखेको छ ।’
संयोजक दाहालले गत भदौ २३ र २४ गते विकसित राजनीतिक घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटनाको संज्ञा दिए । हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै उनले २४ गतेको घटनाकै निरन्तरताका रूपमा अहिलेका चुनौतीहरू अगाडि आएको बताए ।
उनले भने, ‘त्यसबेला हामीले निर्वाचनमा जानुको विकल्प देखेनौँ । फेरि अर्को दुर्घटना तुरुन्तै हुने हो कि भन्ने सन्त्रास देशभरि थियो । भदौ २४ देखि २६ भित्र अर्को ठूलो दुर्घटना हुँदैछ भन्ने चर्चा परिचर्चा व्यापक थिए । तपाईँहरूले पनि सुन्नुभयो होला— नारायणहिटी सफा हुँदैछ, अब केही घण्टापछि देश अर्कै युगमा प्रवेश गर्दैछ भन्ने हल्ला चलाइएको थियो । पछि बुझ्दा त वास्तवमै सफा गर्न लगाइएको रहेछ ।’
मुलुक अहिले पनि असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले तत्कालीन समयमा देशलाई ठूलो दुर्घटनाबाट जोगाउन हतारमा चुनावको निर्णय लिनुपरेको खुलासा गरे । राष्ट्रपति र प्रधानसेनापति लगायतसँगको संवाद र परिस्थितिको गम्भीरतालाई बुझेर नै आफूहरू निर्वाचनको निष्कर्षमा पुगेको उनको भनाइ थियो ।



प्रतिक्रिया