नमोबुद्धमा पानी प्रशोधन प्रणाली


काभ्रेपलाञ्चोक, १८ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन गरिएको छ ।

नेपालकै पहिलो मानिएको यस परियोजनाले विद्यालयलाई जलवायुमैत्री प्रविधि, दिगो पानी व्यवस्थापन तथा कृषि नवप्रवर्तनको जीवित प्रयोगशालाकारुपमा स्थापित गर्ने अपेक्षासमेत गरिएको छ ।

काठमाडौँ विश्वविद्यालय (केयू)अन्तर्गतको नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (एनटीआइसी) तथा स्थानीय संस्कृति फाम्र्स एण्ड रिसर्च सेन्टरको नेतृत्वमा अमेरिकास्थित मेरिल्यान्ड विश्वविद्यालयको ग्लोबल फ्युचर एलायन्स तथा द अरावा इन्स्टिच्युट फर इन्भाइरोन्मेन्टल स्टडिज इजरायलको सहकार्यमा कार्यान्वयन गरिएको यस परियोजनाले खाद्य–ऊर्जा–पानी अन्तरसम्बन्ध (एफईडब्लु–नेक्सस)को अवधारणालाई व्यवहारमा उतार्दै पानी, ऊर्जा र खाद्य उत्पादनलाई एकीकृत गर्ने जनाइएको छ । साथै, दिगो पानी व्यवस्थापन, जल संरक्षण, नवीकरणीय ऊर्जाको उपयोग तथा जलवायुमैत्री कृषिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

परियोजनाको नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक एरी बासले यसैहप्ता उद्घाटन तथा हस्तान्तरण गरेका छन् । एलायन्सको निर्देशक तथा मेरिल्यान्ड विश्वविद्यालयका प्राध्यापक डा एमी सापकोटाका अनुसार यस परियोजना तीन वर्षको निरन्तर अनुसन्धान, अन्तरराष्ट्रिय सहकार्य र अथक प्रयासको परिणाम हो । नेपाल, इजरायल र अमेरिकाका साझेदार संस्थाले सन् २०२३ मा मेरिल्यान्ड विश्वविद्यालयको ‘ग्रान्ड च्यालेन्ज’ कार्यक्रमअन्तर्गत प्राप्त अनुदानबाट एलायन्सको स्थापना गरिएको सापकोटाको भनाइ छ ।

एलायन्सको उद्देश्य खाद्य, ऊर्जा र पानी सुरक्षालाई सुदृढ बनाउनु, वातावरणीय तथा मानव स्वास्थ्य संरक्षण गर्नु तथा विश्वभर जलवायु उत्थानशीलता अभिवृद्धि गर्नु रहेको जनाइएको छ । सापकोटाका अनुसार लगुना प्रणालीले प्रयोग भइसकेको पानीलाई वैज्ञानिकरुपमा प्रशोधन गरी पुनःप्रयोगयोग्य स्रोतमा रूपान्तरण गर्ने, त्यसै पानीलाई सुरक्षित रुपमा कृषि–सिँचाइमा प्रयोग गरी खाद्य उत्पादन बढाउने तथा सम्पूर्ण प्रणाली सौर्य–ऊर्जाबाट सञ्चालन हुने भएकाले यस खाद्य–ऊर्जा–पानी अन्तरसम्बन्धको उत्कृष्ट व्यवहारिक नमूना बनेको छ ।

नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक प्रा डा विमप्रसाद श्रेष्ठ यस स्थापित प्रणालीको विशेष महत्व रहेकाले माविस्तरका विद्यार्थीले आधुनिक पानी प्रशोधन प्रविधिलाई केवल पुस्तकमा पढ्ने मात्र नभई प्रत्यक्ष अवलोकन, सञ्चालन, अनुसन्धान तथा प्रयोगात्मक सिकाइ गर्ने अवसर प्राप्त भएको बताउँछन् । यस्तै विद्यालयलाई भविष्यमा अनुसन्धान, नवप्रवर्तन तथा समुदायका लागि प्रविधि हस्तान्तरणको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।

संस्कृति फाम्र्सका इन्जिनियर श्रीकृष्ण धितालले इजरायलको लगुना इनोभेसन कम्पनीद्वारा विकसित अत्याधुनिक पानी प्रशोधन प्रविधिलाई जनक माविमा नमूना परियोजनाका रुपमा स्थापना गरिएको बताउँछन् । उनका अनुसार यो प्रणाली सञ्चालनको पहिलो वर्ष नियमितरुपमा पानीका नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिने तथा परीक्षणबाट अपेक्षित नतिजा प्राप्त भएपछि उक्त प्रविधि देशभर विस्तार गर्ने लक्ष्य लिइएको छ ।