राहदानी खरिदमा अनियमितता भएको भन्दै कांग्रेसद्वारा निष्पक्ष छानबिनको माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइ खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद खडकबहादुर बुढाले सरकारले नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका हुन् ।

सांसद बुढाले राहदानी विभागका महानिर्देशकलाई उच्च राजनीतिक तहबाट दबाब दिएर सस्तो प्रस्ताव रद्द गराई पुरानै कम्पनीसँग महँगोमा राहदानी खरिद गर्ने प्रपञ्च भइरहेको दाबी गरे । ‘कम मूल्यको पारदर्शी प्रस्तावलाई लत्याएर पुरानै कम्पनीसँग प्रति पासपोर्ट दुई अमेरिकी डलर महँगोमा खरिद गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘भेरिएसन अर्डरमार्फत राज्यकोषमा ठूलो आर्थिक भार थप्ने यस्ता गतिविधि प्रतिपक्षलाई स्वीकार्य हुँदैन ।’ उनले यस प्रकरणको निष्पक्ष अनुसन्धान भए कांग्रेसले पूर्ण सहयोग गर्ने स्पष्ट पारे ।

बैठकमा उनले संवैधानिक निकायहरूको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्था स्वतन्त्र हुनुपर्ने धारणा राखे । प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयले मन्त्री तथा संवैधानिक निकायको कानुनी भूमिकामाथि हस्तक्षेप गरेको उनको आरोप थियो ।

सरकार संविधान र कानुनभन्दा पनि आदेशमुखी शैलीबाट चलेको टिप्पणी गर्दै सांसद बुढाले संसद्मा प्रतिपक्षले उठाएका आवाजलाई बेवास्ता गरेर सरकारले सुशासनको खोक्रो नारा मात्र दिइरहेको आरोप लगाए ।