निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब


काठमाडौँ, १८ असार । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ ।

मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो । 

मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्टाएको छ । अछाम जिल्लाका अधुरा सडकका लागि रु १० करोड बजेट विनियोजन गरेको छ । मकवानपुरको अधुरो सडकका लागि रु ११ करोड ५० लाख विनियोजन गरेको छ । 

मोरङको सडकको लागि रु १३ करोड  ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले निर्वाचन रणनीतिक सडकका अधुरा योजना सम्पन्न गर्नका लागि न्यूनतम रु ३० लाखदेखि १४ करोड ३० लाख रकमसम्म विनियोजन गरेको छ ।