सार्वजनिक यातायातकाे भाडा २ प्रतिशतले घट्याे


काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो ।

यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको छ।

यस नयाँ निर्णय अनुसार अब यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधन सबैमा दुई प्रतिशत भाडा घट्नेछ। उक्त घटेको भाडादर यही असार १८ गतेदेखि नै लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रूटहरूमा सञ्चालन हुने सार्वजनिक यातायातमा कार्यान्वयनमा आउने विभागले जनाएको छ।