आधिकारिक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न व्यवसायी संघको निर्देशन


काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ काठमाडौँ शाखाले आधिकारिक थोक विक्रेता बाहेक अन्य कुनैपनि व्यक्ति वा माध्यमबाट आएका औषधिहरू खरिद तथा बिक्री नगर्न खुद्रा औषधि व्यवसायीलाई आग्रह गरेको छ । औषधि गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली, सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै संघले आधिकारिक थोक विक्रेताबाट मात्रै औषधि खरिद तथा विक्री गर्न अनुरोध गरेको हो ।

संघद्वारा जारी सूचनामा औषधि खरिद–बिक्री गर्दा अनिवार्य रूपमा आधिकारिक स्रोतबाट मात्र खरिद गर्नुपर्ने, बिल जारी गर्दा ब्याच नम्बर, एक्सपायरी डेट, एमआरपी र परिमाण स्पष्ट उल्लेख गर्नुपर्ने निर्देशन जारी गरिएको छ। साथै, कुनै पनि फार्मेसीको नाम र प्यान प्रयोग गरी अनधिकृत व्यक्तिबाट औषधि बिक्री वा बिलिङ नगर्न चेतावनी दिइएको छ।

संघले औषधि व्यवसायीहरूलाई गुणस्तरीय तथा सुरक्षित आपूर्ति प्रणाली सुनिश्चित गर्न, भण्डारणका मापदण्ड पालना गर्न तथा ‘कोल्ड चेन’ आवश्यक पर्ने औषधिमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्री नगर्न पनि निर्देशन दिइएको छ।

यस्तै, खरिद–बिक्री, भण्डारण र वितरणका सम्पूर्ण प्रक्रियामा प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्नुपर्ने संघको भनाइ छ।

औषधि व्यवसाय केवल व्यापार नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएकाले जिम्मेवार र नैतिक रूपमा व्यवसाय सञ्चालन गर्नु अत्यावश्यक रहेको स्रंघले जनाएको छ ।