काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको गुनासो गरेका छन्।
आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूलाठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन।’
शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा बस्न बाध्य भएको, तर अझै राज्यको उपस्थितिको अनुभूति हुन नसकेको बताएका छन्।
विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित भए त्यसको कुनै अर्थ नरहने उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने उनले बताएका छन्।
‘विपत् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता केवल भाषण र घोषणामै सीमित हुने हो भने त्यसको अर्थ के रहन्छ? यस्तो संवेदनशील घडीमा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्छ। प्रत्येक क्षण अमूल्य छ, किनकि ढिलो भएको प्रत्येक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ,’ उनले लेखेका छन् ।



प्रतिक्रिया