काठमाडौं । सरकारले विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर विद्यार्थीलाई सैन्य तालिम दिने तयारी गरेको छ ।
सरकारले राष्ट्रिय सेवा दललाई समयसापेक्ष परिमार्जन गर्न र नागरिकलाई राष्ट्रको सेवामा तत्पर बनाउन भन्दै ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ संघीय संसदमा दर्ता गरेको छ । कार्यान्वयनको अवस्थामा नरहेको विद्यमान राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई प्रतिस्थापन गर्दै नेपालको संविधानको भावना र संघीय संरचना अनुरूप नयाँ व्यवस्था गर्न यो विधेयक ल्याइएको हो ।
प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहद्वारा प्रस्तुत गरिएको यस विधेयकको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना जगाउनु रहेको विधेयकमा उल्लेख छ ।
संविधानको धारा ५१ को खण्ड (क) मा उल्लेखित राष्ट्रिय सुरक्षा नीति अनुसार नागरिकलाई राष्ट्रको सेवा गर्न सक्षम बनाउने लक्ष्य यसले लिएको छ । ५६ वर्ष पुरानो ऐनले वर्तमान आवश्यकता र संरचनालाई सम्बोधन गर्न नसक्ने भएकाले नयाँ कानुनको तर्जुमा गरिएको विधेयकको ‘उद्देश्य र कारण’ मा उल्लेख छ ।
प्रस्तावित विधेयक अनुसार सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयका विद्यार्थीलाई तालिममा सहभागी गराइनेछ । तालिमलाई दुई तहमा वर्गीकरण गरि कक्षा ८ देखि १० सम्मका १३ देखि १८ वर्ष उमेरका विद्यार्थीलाई जुनियर डिभिजन र कक्षा ११ र १२ मा अध्ययनरत १६ देखि २१ वर्ष उमेरका विद्यार्थीलाई सिनियर डिभिजनमा बाँडिने उल्लेख छ ।



प्रतिक्रिया