स्वास्थ्य मन्त्री निशाकाे सय दिन : यस्ता छन् मन्त्रालयकाे उपलब्धि


काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफुले कार्यभार सम्हालेको १०० दिनमा भएको प्रगति विवरण सार्वजनिक गरेकी छिन् । स्वास्थ्य मन्त्री मेहताले शनिबार प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।

यस अवधिमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउने लगायतका उपलब्धिहरू हासिल गरिएको उनले प्रगति विवरणमा उल्लेख गरेकी छन् ।

१. ‘निःशुल्क स्वास्थ्य पोर्टल’ र एकीकृत सूचना प्रणाली 

स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउन मन्त्रालयले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। यस पोर्टलमा हालसम्म २१७ अस्पताल आबद्ध भई ३,२५५ निःशुल्क शय्या ९बेड० छुट्याइएका छन्। यसैगरी, बिरामीहरूको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा आदान–प्रदान गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ।

२. अस्पताल सेवा र शासकीय सुधार 

अस्पतालहरूको सेवामा सुधार ल्याउन मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गरेको छ। यसले स्वास्थ्य क्षेत्रको शासकीय सुधारका कार्यसूचीहरूलाई तीव्रता दिएको छ।

३. सुलभ फार्मेसी र औषधि खरिद 

सरकारी अस्पतालहरूमा एकद्वार प्रणालीमार्फत स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरण गर्न ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ कार्यान्वयनमा ल्याइएको छ। औषधि आपूर्तिलाई सहज बनाउन नेपाल औषधि लिमिटेडसँग सोझै औषधि खरिद गर्ने सम्झौता समेत गरिएको छ।

४. जलन उपचार युनिट र आकस्मिक उद्धार

देशका १४ सङ्घीय अस्पतालहरूमा जलन (बर्न) उपचार युनिट स्थापना गरी सञ्चालनमा ल्याइएको छ। यसका लागि २० करोड रुपैयाँको जलन उपचार कोष स्थापनाको व्यवस्था गरिएको छ। साथै, दुर्गम वा आपतकालीन उद्धारका लागि ११ वटा हेलिकप्टर कम्पनीहरूसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

५. स्वास्थ्य बिमा भुक्तानी

स्वास्थ्य बिमातर्फ २०८२ मङ्सिर सम्मको दाबी अन्तर्गत अस्पतालहरूलाई कुल १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिसकिएको छ। बिमा प्रणालीमा रहेका विद्यमान विकृतिहरूलाई हटाउन तत्कालीन तथा मध्यकालीन रणनीतिहरू कार्यान्वयन भइरहेको प्रगति विवरणमा उल्लेख छ।

६. मानसिक स्वास्थ्य र हिमाली क्षेत्रमा स्वास्थ्य सेवा

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै मन्त्रालयले ‘सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड, २०८३’ स्वीकृत गरेको छ। हाल ११६६ नम्बरको हटलाइनमार्फत नागरिकलाई मनोपरामर्श सेवा प्रवाह भइरहेको छ। यस्तै, दुर्गम तथा हिमाली क्षेत्रका विभिन्न पालिकाहरूमा हाई अल्टिच्युड क्लिनिकु स्थापनाका लागि बजेट विनियोजन गरिएको छ।

७ . ९७७ नयाँ दरबन्दी थप र स्वास्थ्यकर्मीको भत्ता वृद्धि

लामो समयदेखि रोकिइरहेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी मन्त्रालयले ९७७ वटा नयाँ सङ्घीय दरबन्दी थप गरेको छ। यसका साथै नर्सिङ तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन न्यूनतम तलब र रात्रिकालीन भत्तामा वृद्धि गरिएको छ।

स्वास्थ्य सुरक्षा तथा उपभोक्ता हितलाई ध्यानमा राख्दै मन्त्रालयले मोबाइल खाद्य प्रयोगशाला भ्यान सञ्चालनमा ल्याएको छ। यस अवधिमा उक्त भ्यानमार्फत १५ हजार ६९० वटा खाद्य नमुनाको विषादी अवशेष परीक्षण गरिएको छ।