बागमती प्रदेश सभामा कांग्रेसको ह्विप


हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८/३८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । कांग्रेस संसदीय दलको बैठकले बजेट पारित गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको हो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई लक्षित गर्दै तीन लाइन ह्विप जारी गरेका छन् ।

ह्विपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेस हुने भएकाले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानका क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिइएको छ ।

कांग्रेस संसदीय दलले बजेट पारित हुने निर्णायक चरणमा सांसदहरूको अनुपस्थितिले सरकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था देखिएपछि ह्विप जारी गरेको हो ।

पछिल्ला केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहबिच बजेटको विषयलाई लिएर विवाद चर्किएको छ । लामा पक्षधर केही सांसद प्रदेशसभा बैठकमै अनुपस्थित रहँदै आएका छन् भने बजेट पारित प्रक्रियामा असहयोग गर्ने सङ्केतसमेत दिएका थिए ।

बागमती प्रदेशसभामा शनिबार बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुङ्ग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।