चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ


काठमाडौँ ।चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । थाइल्याण्डको बैंककबाट नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ उनलाई गरेको हो ।

पक्राउ पर्नेमा भारतको कोलकाता, पश्चिम बंगाल घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार, क्षेत्री थाई एयरवेजको उडानमार्फत आइतबार बैंककबाट काठमाडौं आएका थिए । विमानस्थलमा उनको लगेज (सामान) जाँच गर्ने क्रममा चक्लेटको प्याकेटभित्र लुकाइछिपाई ल्याइएको २ किलो ८०० ग्राम थाइल्याण्डको गाँजा फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बरामद गरिएको उक्त गाँजा थाइल्याण्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजान लागिएको खुलेको छ ।