नेपाली राजदूतावासले अमेरिकामा गर्याे नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल


काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीस्थित मेक्सिकोको प्रसिद्ध पर्यटकीय सहर काङ्कुनमा नेपालको पर्यटन, व्यापार तथा लगानीका अवसरहरू प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम भएको छ।

नेपाली राजदूतावासको आयोजनामा नेपालमा वैदेशिक लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्न आर्थिक कूटनीति प्रयास अन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो।

सो कार्यक्रममा मेक्सिको लगानीकर्ता तथा पर्यटन व्यवसायीहरू माझ नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू, हस्तकला तथा अन्य निर्यातयोग्य व्यापारिक वस्तुहरू र जलविद्युत, पूर्वाधार एवं सूचना प्रविधि जस्ता क्षेत्रमा रहेका लगानीका सुनौला अवसरहरूबारे जानकारी गराएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै मेक्सिकोका सांसद लुइस हम्बर्टो अल्डाना नाभारा र उपस्थित उद्यमीहरूले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताप्रति चासो देखाउँदै दुई देश बिचको व्यापारिक सम्बन्ध र पर्यटन सञ्जाललाई अझ मजबुत बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।