राजनीतिक विश्लेषक झाको दाबी: ‘पुराना नेताबाट मुक्ति खोज्दै जनताले बालेन–रास्वपालाई रोजे’



काठमाडौ । राजनीतिक विश्लेषक देवेश झाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको अभियान सकारात्मक भएको बताएका छन् । 

‘स्वतन्त्र नागरिक अभियान नेपाल’ले शनिबार माइतीघर मण्डलामा आयोजना गरेको सरकारको १०० दिने समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी जग्गा अतिक्रमण हटाउने कार्य तथा ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्दै सुकुम्वासी व्यवस्थापनमा भने सरकार चुकेको बताए  ।

वर्तमान सरकार जेनजी आन्दोलनको जगमा आएको उनले बताए । गत फागुन २१ को निर्वाचनमा उम्मेदवार भन्दा पनि जनताले घण्टीलाई रोजेको उनको भनाइ छ  । `फागुन २१ को निर्वाचनमा मतदान गर्दा उम्मेदवार को हो भन्ने कुरा जनताले खासै वास्ता गरेनन्। भोट घण्टीमा गयो। किनभने जनताले पुराना नेताहरू, जो नमरुन्जेल कुर्सी नछाड्ने प्रवृत्तिका थिए, उनीहरूबाट मुक्ति चाहेका थिए,” उनले भने ,´ झाले थप्दै भने `बालेन–रास्वपा र घण्टी नेपाली जनताको मुक्तिदाताका रूपमा प्रस्तुत भयो। त्यसकारण जनताले भोट दिए र त्यो सफल पनि भयो

१०० दिन सरकारको ‘हनिमुन अवधि’ मात्र भएकाले अन्तिम मूल्यांकन गर्न हतार गर्न नहुने उनको भनाइ छ । जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा परिणाममुखी हुने गरी काम गर्न सरकारलाई उनले सुझाव समेत दिए ।