फोनमा ट्रम्प र पुटिनको ९० मिनेट संवाद, के भयाे कुराकानी ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा करिब ९० मिनेट संवाद गरेका छन् । ट्रम्पले रुस–युक्रेन युद्धको समाधानका लागि सहयोग गर्ने प्रस्ताव राखेको क्रेमलिनका वरिष्ठ सहयोगी युरी उसाकोभले जानकारी दिएका छन् । 

ट्रम्प आगामी हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने तयारीमा रहेका बेला शनिबार दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।

उसाकोभले ट्रम्पले फेरि एकपटक युद्धलाई चाँडै अन्त्य गर्न र संकट समाधानका लागि काम गर्ने इच्छा व्यक्त गरेको बताए । 

उसाकोभले ट्रम्प र पुटिनबीचको कुराकानीलाई निकै रचनात्मक भएको बताए । उनका अनुसार रुसले यस द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधान चाहन्छ, तर त्यसका लागि आफ्ना आधारभूत रणनीतिक हित र राष्ट्रिय स्वार्थलाई पनि ध्यानमा राखिनुपर्नेमा जोड दिएको छ ।

क्रेमलिनले युक्रेन र उसका युरोपेली सहयोगीहरूमाथि युद्धलाई लम्ब्याउने तथा थप चर्काउने प्रयास गरिरहेको आरोप लगाएको छ । 

उसाकोभले युक्रेन र उसका सहयोगीहरूले नागरिकहरूविरुद्ध आतंकवादी गतिविधिको सहारा लिइरहेको दाबी गरे । उनको यो टिप्पणी रुसका तेल प्रशोधन केन्द्र तथा अन्य रणनीतिक संरचनामाथि युक्रेनले गरिरहेको आक्रमणतर्फ लक्षित थियो । ती आक्रमणका कारण रुसका विभिन्न क्षेत्रमा इन्धन अभावको समस्या देखिएको बताइएको छ ।

उसाकोभका अनुसार पुटिनले ट्रम्पलाई युद्धभूमिको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रुसी सेना निरन्तर अगाडि बढिरहेको र एकपछि अर्को क्षेत्र आफ्नो नियन्त्रणमा लिइरहेको बताएका थिए ।

रुसी सैन्य अधिकारीहरूले शुक्रबार पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको रणनीतिक सहर कोस्तियांतिनिव्कामाथि कब्जा गरेको दाबी गरेका थिए । तर, शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युक्रेनी सेनाले उक्त दाबी अस्वीकार गर्दै सहर अझै पनि युक्रेनकै नियन्त्रणमा रहेको बताएका छन् ।

रुसको भनाइअनुसार युक्रेनसँग हुने कुनै पनि शान्ति सम्झौतामा डोनबास क्षेत्रमाथि आफ्नो पूर्ण नियन्त्रण सुनिश्चित हुनुपर्छ । युक्रेनले भने यो मागलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

गत महिना जेलेन्स्कीले पुटिनलाई प्रत्यक्ष भेटवार्ताको प्रस्ताव राखेका थिए, तर क्रेमलिनले त्यसलाई अस्वीकार गरेको थियो । उसाकोभका अनुसार ट्रम्पले अमेरिकाका विशेष दूत स्टिभ विटकफ र जेरेड कुसनरले समाधान खोज्ने प्रयास जारी राख्ने तथा आवश्यक परे पुनः मस्को भ्रमण गर्न सक्ने बताएका छन् ।

रिपोर्टका अनुसार पछिल्ला दिनहरूमा अमेरिकाको कूटनीतिक पहल केही सुस्त भएको छ, किनकि वासिंटनले हाल इरानसँगको तनावमा बढी ध्यान केन्द्रित गरिरहेको छ । 

उसाकोभले पुटिनले ट्रम्पसँग इरान संकटमा अमेरिकी कूटनीतिक प्रयासले दीर्घकालीन र दुवै पक्षलाई स्वीकार्य समाधान निकाल्न सहयोग पुग्ने आशा व्यक्त गरेको बताए । कुराकानीका क्रममा पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निमन्त्रणा पनि दोहोर्‍याएका थिए । एनबीसी