कर्णालीमा बस दुर्घटना: सरकारले चासो नदेखाएको भन्दै ज्ञानेन्द्र शाहीले जनाए आपत्ति


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक हप्ता वितिसक्दा पनि सरकारले उचित कदम नचालेको भन्दै सरकारकाथि गम्भिर असन्तुष्टि जनाए । भीरमा अड्किएर डाँको लगाउँदा समेत यात्रुको उद्धार नभएको उनले बताए।

‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उनीहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, आशा सक्कियो तर उद्धार आएन । त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो,’ उनले भने ।

उनले कर्णाली नेपालमा हो कि होइन ? भन्दै प्रश्न गरे । ‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा, कर्णालीमा नागरिक डुब्दै गर्दाखेरि उद्धार गर्न नहुने ? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन् ?,’ उनले भने ,‘यसको जवाफ आज दिनुपर्छ । यो संसद्मा रुलिङ गर्नुपर्छ । कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ कि छैन ? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् कि होइनन् ? कि हामी कर्णालीमा जन्मिनु नै हाम्रो अभिशाप हो ?,’