काठमाडौं । युक्रेनको राजधानी किभमा सोमबार बिहान रुसले ब्यालिस्टिक मिसाइल प्रहार गर्दै भीषण आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा जौजनाको मृत्यु भएको छ । ४६ जना घाइते भएको किभका मेयर भिटाली क्लित्च्कोले बताएका छन् ।
मेयर क्लित्च्कोले आफ्नो टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै किभको ऐतिहासिक पोदिल जिल्लास्थित एक भवनको सातौँ र नवौँ तल्लाको भग्नावशेषमा कयौँ मानिस थुनिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
किभ सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोका अनुसार पोदिल्स्की जिल्लाको एउटा आवासीय भवन आंशिक रूपमा भत्किएको छ । डार्नित्सिया जिल्लाका कयौँ बहुमञ्जिले भवनमा क्षति पुगेको छ । त्यहाँ पनि मानिस भग्नावशेषमुनि पुरिएको आशंका छ ।
“ती सर्वसाधारण बसोबास गर्ने आवासीय भवन हुन्, जहाँ मानिसहरू सुतिरहेका थिए,” त्काचेन्कोले भने ।
यसैबीच, किभ क्षेत्रका गभर्नर माइकोला कालाश्निकले किभनजिकैको बुचा सहरमा पनि रुसी आक्रमणका कारण एकजनाको मृत्यु भएको र अन्य १० जना घाइते भएको जानकारी दिएका छन् ।
गत बिहीबार रुसले किभमा गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । यस वर्षकै सबैभन्दा घातक मानिएको उक्त आक्रमणपछि किभ सहरमा शोक दिवससमेत घोषणा गरिएको थियो । डीडब्ल्यू



प्रतिक्रिया