सरकारलाई सभामुखकाे निर्देश : ‘सांसदहरूले उठाएकाे विषयमा जवाफ दिनु’


काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएकाे विषयमा जवाफ दिनको लागि सरकारलाई रुलिङ गरेका छन् ।

जारी प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले भने ‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले बिभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ ।’

सोमबार प्रतिनिधिसभामा सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।

‘‘माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।