इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी


तेल अभिभ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायललाई नष्ट गर्ने कुनै पनि योजना अघि बढाउने इरानी नेतृत्वमाथि कारबाही गरिने चेतावनी दिएका छन् ।

इरानमा दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको बहुदिने अन्त्येष्टि समारोह जारी रहेका बेला सोमबार सार्वजनिक गरिएको वक्तव्यमा काट्जले इरान र सम्पूर्ण क्षेत्रमा इजरायलको विनाशको योजना बनाएको र त्यसको नेतृत्व गरेको कारण खामेनी मारिएको दाबी गरेका छन् ।

उनले इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणले इजरायलमाथि रहेको तत्कालीन अस्तित्वगत खतरा हटाएको तथा इरानको रणनीतिक सैन्य क्षमता गम्भीर रूपमा कमजोर बनाएको पनि दाबी गरे ।

काट्जले अन्त्येष्टि समारोहका क्रममा केही सहभागीले ‘ट्रम्पको मृत्यु होस्’ भन्ने नाराबाजी गरेको घटनाको पनि आलोचना गरेका छन् ।

त्यस्ता नारालाई लज्जास्पद भन्दै त्यसले इरानको अयातोल्लाह शासनको वास्तविक चरित्र उजागर गरेको टिप्पणी उनले गरेका छन् । एजेन्सी