होल्डिङ सेन्टरका सुकुमवासी भन्छन्-‘हामीलाई राहत होइन बासको व्यवस्थापन चाहियाे’


काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने भएका छन् ।

नेपाल सरकार तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारलाई असार २२ गतेभित्र राहतका लागि निवेदन दिन आह्वान गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनीहरुले राहतभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेको बताएका छन् ।

उनीहरूले आफूहरूको आवश्यकता राहत रकम नभई राज्यले भत्काएको बासको सम्मानजनक व्यवस्थापन भएको बताएका छन् । वैकल्पिक आवासको व्यवस्था नगरी घर भत्काएर केही रकम उपलब्ध गराउनु समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उनीहरूको भनाइ छ । ‘हामीले खोजेको राहत होइन, राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन हो’, विज्ञप्तिमा उल्लेख छ ।

प्रभावित परिवारले राहतको निवेदन नदिएको आधारमा कसैलाई धम्क्याउने, दबाब दिने, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा सरकारी सेवासुविधाबाट रोक्ने प्रयास स्वीकार्य नहुने पनि बताएका छन् ।