हिरासतबाट थुनुवा भागेपछि निलम्बनमा परे प्रहरी जवान


धनगढी । कैलालीमा हिरासतबाट एक थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भागेको प्रहरीले जनाएको छ ।

टीकापुर नगरपालिका १ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार नगार्जीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।

घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ ।