प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएका पोखरेल पुर्पक्षका लागि थुनामा


पाँचथर । प्रधानमन्त्री बालेन (वालेन्द्र) शाहालगायतका नेताहरुलाई अपमानजनक र गाली गलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत पाँचथरले यस्तो आदेश दिएको हो ।

पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले बताए ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युटुबमा गाली गरेको आरोपमा पक्राउ परेको सार्वजनिक भएपछि देशभर व्यापक विरोध भएको थियो । चर्को विरोध पछि प्रहरीले चैत २९ गते परिवारलाई जिम्मा लगाएको थियो ।

तर, जिल्ला अदालतमा मुद्धा दायर भएपछि न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि कारगार पठाउने आदेश गरेको हो ।