काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । सरकारले सय बुँदामा तोकिएको कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गरेको तर्क गरे ।
अर्थ मन्त्रालयले सय बुँदा मध्ये आफ्नो जिम्मेवारीमा परेको सबै काम फत्ते गरेको उनले बताए । ‘सय दिनको प्रसंग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते भएको छ । यो आफैमा अभूतपूर्व होला । आफैले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर आफू त्यसैमा खरो उत्रनका लागि सरकारले आफूले इमानदार रूपमा प्रयासरत छ । केही कामहरू निरन्तर छन् । विधेयक पेस गर्ने जस्ता कुराहरू त्यो हाम्रो कन्ट्रोलमा मात्रै नभएको हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका सबै कामहरू फत्ते गरेको छ,’ उनले भने ।



प्रतिक्रिया