काठमाडौँ । सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा उनले घुस रकम मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चौया-बन्दीपुर सडक खण्डबाट नियन्त्रणमा लिएको हो ।
खानतलासीका क्रममा उनको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ ।
उनीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।



प्रतिक्रिया