नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा


काठमाडौँ, २४ असार । नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छिन् ।

थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेकी हुन् ।

थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार सो भेटमा स्थायी सचिव सोफियाले यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तमा निःशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको र शिविर सफलतापूर्वक आयोजना गरेकामा नेपालको उच्च प्रसंशा गरिन् ।

कम्बोडियाका साझेदारहरूसँगका सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल) तथा राजदूतावासको संयुक्त प्रयासमा सो शिविर सम्पन्न भएको थियो ।

भेटमा उनीहरुबीचमा आँखा उपचार लगायत जनस्वास्थ्यको क्षेत्रमा थप सहयोगको खोजी गर्ने शिक्षा, कृषि, पर्यटन र आपसी हितका अन्य क्षेत्रमा सहयोग विस्तार गर्ने र दुई देशबीचको आर्थिक तथा व्यापारिक सहयोग बढाउने क्षेत्रमा पनि कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राजदूत ओलीले आँखा स्वास्थ्यको क्षेत्रमा कम्बोडियाको क्षमता सुदृढ गर्न तालिम तथा अन्य आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएर सहयोग विस्तार गर्न नेपाल तयार रहेको जानकारी गराएका थिए । उनले कम्बोडियाका जनतामा यस्ता सेवाको अत्यधिक मागलाई ध्यानमा राख्दै निकट भविष्यमा अर्को आँखा उपचार शिविर आयोजना गर्न नेपाल तयार रहेको स्थायी सचिव सोफियलाई अवगत गराएका थिए ।

साथै दुई देशबीचको पर्यटन सम्भावनालाई उजागर गर्दै उहाँहरूले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा क्षेत्र अङ्कोर वाटबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने महत्त्वमा जोड दिए ।

यसक्रममा नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य तथा थाइल्यान्डस्थित नेपाली राजदूतावास (कम्बोडियासमेत)को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा पहिलोपटक सञ्चालन गरिएको उक्त शिविरमार्फत एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमा ६४१ महिला र ३६१ पुरुष रहेका थिए ।

उनले आँखा परीक्षणका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार शिविरमा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा ‘रेफर’ गरिएको थियो । शिविरको शुभारम्भ राजदूत ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए ।