१२ हजार घुससहित वन अधिकृत यादव रङ्गेहात पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाका एक वन अधिकृतलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ। सव-डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए-नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने प्रयोजनका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेका थिए। सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई सिरहाको कर्जन्हा नगरपालिका–४ मिर्चैयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गबाट नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका यादवको साथबाट घुसबापतको १२ हजार रुपैयाँ र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ बरामद गरिएको छ। यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।