जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र


काठमाडौँ । राजनीतिक र व्यावसायिक क्षेत्रको उच्च तहमा वित्तीय अपराधको अनुसन्धान तीव्र भइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै ३१ वर्षीय देउवालाई सात दिनभित्र पुल्चोकस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको सूचनाअनुसार देउवालाई बाटोको म्यादबाहेक ७ दिनभित्र बयान दिन तथा वित्तीय कारोबारका आवश्यक कागजात र विवरण बुझाउन भनिएको छ। यसअघि विभागले सम्पर्क गर्न खोज्दा उनी विदेशमा रहेकाले सार्वजनिक सूचना निकाल्नुपरेको विभागले जनाएको छ।
विभाग स्रोतका अनुसार जयवीरसिंहको नाममा रहेका व्यावसायिक कम्पनी, वित्तीय कारोबार र लगानीको स्रोतमाथि लामो समयदेखि सूक्ष्म अध्ययन भइरहेको छ। देउवाको व्यावसायिक साझेदारी र आर्थिक सम्बन्ध रहेको विषयमा पनि विभागले प्रमाण जुटाइरहेको जनाएको छ।