देशभर वर्षा, गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने क्रम जारी


काठमाडौँ । देशका अधिकांश भूभागमा शनिबार मौसम बदली भएको छ। विभिन्न प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने बागमती र कर्णाली प्रदेशका केही क्षेत्रमा पानी परेको छ। त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो तीन घण्टाको वर्षा विवरणअनुसार तनहुँको साखरमा सबैभन्दा बढी ३६ मिलिमिटर पानी परेको छ।

विभागले शनिबार दिउँसो पनि देशका अधिकांश स्थानमा मौसम बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। विराटनगर र धरानमा भने तुलनात्मक रूपमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

वर्षाको सम्भावना काठमाडौँ र पोखरामा सबैभन्दा बढी ८० प्रतिशत रहेको छ। त्यस्तै, जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत वर्षा हुने अनुमान गरिएको छ।

दिउँसोको तापक्रमतर्फ धनगढी र नेपालगन्जमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ। यता, जोमसोममा भने अधिकतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसमा सीमित रहने अनुमान छ।

शनिबार राति भने देशका कुनै पनि सहरमा वर्षाको सम्भावना नरहेको पूर्वानुमान छ। जुम्ला र जोमसोममा आंशिक बदली हुने भए पनि ओखलढुङ्गा र जिरीमा मौसम मुख्यतया सफा रहनेछ। अन्य अधिकांश सहरमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।

रातिको समयमा जुम्ला र जोमसोममा चिसो बढ्ने देखिएको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि शून्य डिग्री सेल्सियस तथा जोमसोमको माइनस १ देखि १ डिग्री सेल्सियससम्म रहने अनुमान छ। भैरहवामा भने न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।