क्युबाले संयुक्त राष्ट्रसंघको महासभामा भएको बहसका क्रममा आफूविरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीलाई ‘निर्दयी’ भन्दै त्यसको कडा निन्दा गरेको छ ।
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले मंगलबार संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दै भने, ‘अमेरिकी सरकारले क्युबाविरुद्ध बहुआयामिक र गैर–परम्परागत युद्ध सञ्चालन गरिरहेको छ, जुन झन्डै सात दशकदेखि जारी छ । पछिल्ला सात महिनामा यो झन् क्रूर र निर्दयी बनेको छ ।’
उनले अमेरिकी नाकाबन्दीलाई क्युबाली जनतामाथिको ‘सामूहिक अत्याचार’ को संज्ञा दिँदै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन आग्रह गरे । ‘यस निर्दयी अपराधप्रति ध्यान दिनु संयुक्त राष्ट्रसंघको पनि जिम्मेवारी हो,’ उनले भने ।
रोड्रिगेजका अनुसार मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्मको अवधिमा अमेरिकी नाकाबन्दीका कारण क्युबाले अहिलेसम्मकै धेरै ८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा सात प्रतिशत बढी हो ।
उनले फेब्रुअरीमा अमेरिकाले क्युबामाथि लागू गरेको इन्धन नाकाबन्दीको ‘गम्भीर असर’ भने यो आँकडामा समेत समावेश नभएको बताए ।
विश्वका धेरै मुलुक र क्षेत्रीय समूहको समर्थन
मंगलबार अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरूसहित विश्वका विभिन्न क्षेत्रीय संगठनहरूले क्युबाको पक्षमा समर्थन जनाउँदै अमेरिकी नाकाबन्दीको आलोचना गरे ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ यता हरेक वर्ष ठूलो बहुमतका साथ अमेरिकालाई क्युबामाथिको नाकाबन्दी हटाउन आग्रह गर्ने गैर–बाध्यकारी प्रस्ताव पारित गर्दै आएको छ ।
तर गत अक्टोबरमा यस प्रस्तावप्रतिको समर्थन केही घटेको थियो । त्यसबेला १६५ सदस्य राष्ट्रले समर्थन गरेका थिए, जबकि अघिल्लो वर्ष यो संख्या १८७ थियो । सात राष्ट्रले विरोध गरेका थिए भने १२ राष्ट्र तटस्थ बसेका थिए ।
यस वर्ष मंगलबार बहस गर्ने वा नगर्ने विषयमा भएको मतदानमा पनि समर्थन थप घट्ने संकेत देखियो । १३६ राष्ट्रले समर्थन गरे, नौ राष्ट्रले विरोध गरे र ३० राष्ट्र तटस्थ बसे । तटस्थ रहने देशहरूमा क्युबाका परम्परागत समर्थक मानिने जर्मनी र क्यानडासमेत थिए ।
अमेरिकाको प्रतिक्रिया
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले भने, ‘क्युबामाथि कुनै अमेरिकी नाकाबन्दी छैन । क्युबामा वास्तविक नाकाबन्दी भनेको त्यहाँको शासनले आफ्नै जनताको टाउकोमाथि झुन्ड्याएको गिलोटिन हो ।’
‘कूटनीतिक वार्ताबाट कुनै प्रगति भएन’
हालै हाभाना र वासिङ्टनबीच भएका कूटनीतिक वार्तालाई उल्लेख गर्दै विदेशमन्त्री रोड्रिगेजले ‘कुनै प्रगति नभएको’ बताए । उनले भने, ‘अमेरिकी अधिकारीहरूले क्युबालाई पराजित शत्रु वा उपनिवेशसरह व्यवहार गरिरहँदासम्म कुनै प्रगति हुने सम्भावना छैन ।’
युरोपेली संघले सुधारको आवश्यकता औँल्यायो
संयुक्त राष्ट्रसंघका लागि युरोपेली संघका राजदूत स्ताभ्रोस लाम्ब्रिनिडिसले अमेरिकी नीतिको आलोचना गरे पनि क्युबा सरकारको जिम्मेवारी पनि रहेको बताए । उनले भने, ‘क्युबाली जनताले भोगेको कठिन अवस्था केवल अमेरिकी नाकाबन्दीका कारण मात्र भएको होइन ।’
उनले मानवअधिकारको सम्मानसहित अर्थतन्त्र र राजनीतिमा अर्थपूर्ण सुधार गर्न क्युबाली सरकारलाई आग्रह गरे । साथै, युक्रेनविरुद्धको युद्धमा रुससँग क्युबाले देखाएको निकटताको पनि आलोचना गरे ।
ऊर्जा संकटले थप गहिरियो मानवीय समस्या
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयबाट रिपोर्ट गर्दै अल जजिराका संवाददाता गाब्रिएल एलिजोन्डोले हाभाना र वासिङ्टनबीचको गहिरो अविश्वास र तनाव संयुक्त राष्ट्रसंघको बहसमा स्पष्ट रूपमा देखिएको बताए ।
हालको नाकाबन्दीका कारण क्युबा लामो समयदेखि गम्भीर विद्युत् संकटबाट गुज्रिरहेको छ । अमेरिकाले क्युबातर्फ जाने तेल आपूर्तिमा अवरोध गरेपछि देशभर बारम्बार विद्युत् कटौती भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा क्युबामाथि तेल आपूर्तिमा नाकाबन्दी गर्ने आदेश दिएका थिए । यो कदम छ दशकभन्दा लामो समयदेखि कायम कम्युनिस्ट शासनमाथि दबाब बढाउने प्रकरणकै हिस्सा थियो ।
त्यसयता रुसबाट एउटा मात्र तेल ट्यांकर क्युबा पुगेको छ । परिणामस्वरूप सोभियतकालीन पुराना विद्युत् उत्पादन केन्द्रहरूमा आवश्यक इन्धनको अभाव चुलिएको छ ।
देशमा खाद्यान्न, खानेपानी र औषधिको समेत अभाव बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघले क्युबामा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ । एजेन्सी



प्रतिक्रिया