टिकटकर किरण साहको आरोप : ‘शक्तिको दुरुपयोग गरेर जेल हालियो, अहिले साइबर बुलिङ भइरहेछ’


काठमाडौँ । टिकटकमा चर्चित वीरगञ्जकी किरण साहले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो फोटो दुरुपयोग गर्दै चरित्र हत्या भइरहेको बताएकी छन् । रिपोर्टर्स नेपालको कार्यालयमा आएकी साहले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो तीव्र रूपमा चरित्रहत्या भइरहेको बताएकी हुन् ।

तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवलाई सार्वजनिक सरोकारको विषयमा प्रश्न सोधेकै कारण प्रतिशोधको सिकार बनेकी साहलाई अहिले संगठित रूपमा सामाजिक सञ्जालमा निशाना बनाइएको उनको गुनासो छ ।

२०८२ साल साउन भदौ महिनामा बारा र पर्सामा वीरगञ्जमा खानेपानीको चरम हाहाकार भएको थियो । त्यतिबेला वितरण गरिएको दूषित पानी पिउँदा स्थानीय बासिन्दा ठूलो संख्यामा बिरामी परेका थिए । दूषित पानी खाँदा त्यतिबेला ६ जनाको ज्यान गएको थियो । सोही जनसरोकारको विषयलाई लिएर टिकटकर साहले तत्कालीन खानेपानी मन्त्री यादवलाई ‘दूषित पानी किन वितरण गरेको ?’ भन्दै प्रश्न गरेकी थिइन् । उनले यही विषयमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई पनि प्रश्न गरेकी थिइन् ।

जनताको समस्याबारे प्रश्न उठाउँदा उल्टै तत्कालीन मन्त्री यादवले आफूलाई धाकधम्की दिएको र शक्तिको दुरुपयोग गरी ६ दिनसम्म थुन्न लगाएको साहको भनाइ छ । हिरासतमा तनावका कारण बिरामी परेकी साहले आफू पटक–पटक गरी १२ पटकसम्म अस्पताल भर्ना हुनुपरेको पीडा रिपोर्टर्स नेपाललाई सुनाइन् ।

तत्कालीन मन्त्री यादवका स्वकीय सचिव (पिए) हरिन्द्र साहले मन्त्रीलाई फोनमा कुराकानी गर्दा किरण साहले धम्क्याएको भन्दै विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गराएका थिए । उक्त मुद्दामा जिल्ला अदालतले किरण साहलाई सफाइ दिइसकेको छ ।

अदालतबाट न्याय पाए पनि आफ्नाविरुद्ध सामाजिक सञ्जालमा भ्रामक र अपमानजनक सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने क्रम नरोकिएको उनले बताइन् । आफूविरुद्ध प्रहार बढेपछि साहले दोषीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर क्राइमको मुद्दा दर्ता गरिसकेको बताइन् । अदालतबाट निर्दोष साबित भइसकेकी एक महिलामाथि सामाजिक सञ्जालमा भइरहेको यो प्रहारलाई स्थानीयस्तरमा तीव्र आलोचना गरिएको छ ।

यसैबीच, आफ्नो चरित्रहत्या गर्नेमाथि तत्काल कारबाही गर्न साहले गृहमन्त्रीसँग माग गरेकी छन् ।