काठमाडौँ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यको नियुक्तिसहित विभिन्न ८ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णयसमेत भएको जानकारी दिए ।
यस्तै सरकारले कैलालीको गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले शिक्षा, गृह र प्रशासनिक क्षेत्रसँग सम्बन्धित विभिन्न ४ वटा नियमावली तथा कार्ययोजनाहरू पनि स्वीकृत गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्का ८ निर्णयहरूः
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने ।
२. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गर्ने ।
३. गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
४. विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने ।
५. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने ।
६. कारागार नियमावली २०८३ स्वीकृत गर्ने ।
७. मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने ।
८. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने ।



प्रतिक्रिया