सम्पत्ति शुद्धीकरण मुद्दा : पूर्वअर्थमन्त्री पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद थपको माग गर्दै बिहीबार पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

योसँगै पौडेलको अनुसन्धानका लागि चौथोपटक म्याद थपिएको हो । अदालतको आदेशअनुसार उनलाई अनुसन्धान अवधिभर न्यायिक हिरासतमा राखिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्टसँग भएको आर्थिक कारोबारको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । उक्त कारोबारका विभिन्न पक्षबारे प्रमाण संकलन र बयान लिने कार्य भइरहेको विभागको भनाइ छ ।